होलीमा रंग दल्नु जोखिमपूर्ण, कालोबजारी भए खबर गर्नू :गृह मन्त्रालय
गृह मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाउनुपर्ने बेला होलीको अवसरमा शरीरमा रंग अविर दल्नु पनि जोखिमपूर्ण हुने जनाएको छ ।
शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले होलीमा विगतजस्तो रंग र अविर दल्ने कार्य नगर्न अनुरोध गरेको छ ।
‘बढी भीडभाड हुने प्रकृतिको कुनै पनि सभा, सम्मेलन, भेला, कार्यक्रम कोभिड–१९ को सम्भावित जोखिमको सन्दर्भमा हाललाई स्थगित गर्न र सन्निकट होलीमा विगतमा जस्तै भीडभाड र भेलाजम्मा हुने, लोलापानी फ्याक्ने, शरीरमा रंग, अविर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्य नगर्नू/नगराउन आम दाजुभाई, दिदीबहिनीहरूमा हार्दिक अनुरोध छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘आम नागरिकको समन्वय, सहयोग, संलग्नतामा कोभिड–१९ को संक्रमणलाई नेपाल प्रवेशमा रोकथाम गर्न सकिन्छ र नेपाल सरकार यसको रोकथामका लागि हरेक उपायको अवलम्बन गर्न प्रतिबद्ध रहेको छ ।’
कोरोना सम्बन्धमा फैलाइएका भ्रममा नपरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्दै आएका सूचना अनुसार सचेतना फैलाउने र सजगता अपनाउने कार्यमा सबैले सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ ।