तराई मधेशमा लोप हुँदै जोगिरा
तराई मधेशमा होली खेल्दा विभिन्न बाजागाजाका साथ जोगिरा गाउँदै होली खेल्ने गरिन्छ । वास्तवमा जोगीले जोगिरा गाउने गर्छन् । हुन् त् यहा आदिकालदेखि नै देवीदेवता, साधुसन्त, जोगी, ऋषि भएको स्थल रहेकाले सबै देवीदेउताले खेलेको होलीको कथा नै जोगिरा गाएर भन्ने गरिन्छ । भगवान राम, सीता आदिको कथा गाउँदै जोगिरा गाउने गरेकाले मान्छेले जोगिरा गाएर समेत होली मनाउने गर्छन् ।
श्रीपञ्चमीदेखि होलीसम्म प्रत्येक दिन साँझ आ–आफ्नो दलानमा बसेर भजनकीर्तन गर्दै जोगिरा गाउने परम्परा थियो । तर त्यो जोगिरा संस्कृति भने लोप हुन थालेको छ । होलीपर्व नजिकिँदै छ, तर परापूर्वकालदेखि गाउँदै आएको होली गीत (जोगिरा) लोप हुँदै गएकोमा बुढापाकाले यसको संरक्षणमा युवा वर्ग अगाडि आउनुपर्नेमा जोड दिँदै आएका छन् ।
अहिले बजारमा पाइने जोगिराका अश्लिल संस्करणले पनि परम्परागत होलीगीतमाथि धावा बोलेका छन् । परम्परा लोप हुँदै गएको र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेपछि लोप हुँदै गएको परम्परागत होलीगीत जोगिराको संरक्षण गर्नुपर्ने मा स्थानीय अगुवाहरु जोड दिनुहुन्छ ।
धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभाव पारेको भए पनि होलीको रौनकता नै विस्तारै हराएर गएको छ । पहिलेको होलीमा गाइने गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो । तर अहिले बजारमा पाइने भोजपुरी गीतमा अश्लीलता र फोहरी शब्द बढी हुन्छ । तराई मधेशको सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा ग्रामीण परम्परा र माटो बास्ना पाइने छ । पौराणिक होली गीत विषय, वासना, प्रेमालाप, सीताराम, शिवपार्वतीमा केन्द्रित भएर गाइन्छ । तर अबको होली गीतमा पश्चिमी सभ्यता र उच्छृङ्खलताको बाहुल्यता छ ।
पहिले पहिले गाउँका दलानहरूमा डम्फु, झ्याली, हार्मो्नियमको तालमा अबेर रातिसम्म विभिन्न उमेर समूहका युवा, वयस्क र वृद्धाहरूको छुट्टाछुट्टै टोलीले समूह बनाई (होली) फगुवा गीत गाउने चलन थियो । तर अचेल बढदो आधुनिकताका कारण मधेशमा जोगिरा (फागु गीत ) दिन प्रतिदिन लोप हुदै गएको छ। विगत केही वर्ष अघिसम्म डम्फुको तालमा गवैयाहरू मनोयोगका साथ फगुवा गीत गाउने, देवीदेवताको वन्दना गर्ने, हाँसो–ठट्टा, पे्रम–विछोड र हर्ष–विनोदका भावहरू गीतको माध्यमबाट प्रस्तुत गर्ने गरिन्थ्यो । तर खै अब यी कुराहरु विरलै पाइन्छ । होली जो हाम्रो समाजको उत्साह र उमंगको अंग थियो त्यसलाई जोगाउनुपर्ने खाचो देखिएको छ । होलि र यसको पौराणिकता र सांस्कृतिक महत्वलाई संरक्षण गर्नुपर्ने देखिएको छ ।