वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटे
काठमाडौं – चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ।
नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो। २०७२ मा नेपालमा आएको भूकम्प वा विदेशमा भएका अन्य कुनै पनि घटनाले यति धेरै असर पारेको थिएन। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कोरोना भाइरसको त्रास बढ्दै गर्दा विदेशको रोजगारीमा जानेको संख्या ७५ प्रतिशतले घटेको बताए। ‘यतिखेर भिसा आइसकेका र नगए भिसा रद्द हुनेबाहेक अरु सबैले वैदेशिक रोजगारी स्थगित गरेको देखिन्छ,’ दाहालले शुक्रबार नागरिकसँग भने, ‘कोरोना त्रासले रोजगारीभन्दा जीवन ठूलो ठानेर हुन सक्छ, कोही पनि विदेश जान चाहेको देखिएन।’
रोजगारीका लागि नेपाली युवा जाने गरेका दक्षिण कोरिया, जापान, दुबई, मलेसिया, कुबेतलगायत कैयन गन्तव्य मुलुकमा कोरोना भाइरस फैलिएको छ। नेपाली युवा पछिल्लो समय दैनिक एक हजार हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेका थिए। अहिले यो संख्या तीन सयभित्र रहेको विभागले जनाएको छ।
सरकारले श्रम स्वीकृतिमा रोक नलगाए पनि वैदेशिक रोजगारीमा जाने (श्रमिक), पठाउने (म्यानपावर) र मगाउने (रोजगारदाता) को सहमतिमै संख्या घटिरहेको दाहालले बताए। ‘रोग फैलिएयता कुनै दिन त पहिलाको तुलनामा ७५ प्रतिशतभन्दा कम उड्ने गरेका छन्,’ दाहालले भने।
नेपाली युवा पछिल्लो समय दैनिक एक हजार हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेका थिए। अहिले यो संख्या तीन सयभित्र झरिसकेको छ।
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ कोरोना भाइरसको त्रासदी बढेपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्यामात्र नभई गन्तव्य मुलुकबाटै मागपत्र आउने क्रम घटेको बताए। ‘केही दिनयता मलेसिया, साउदी अरेबियालगायतका मुलुकबाट आउने मागपत्रमा ७०/७५ प्रतिशतले गिरावट आइसकेको छ,’ उनले भने, ‘कुबेतलगायतका कतिपय मुलुकले विदेशी कामदार लिन रोक लगाइसकेका छन्।’ वैदेशिक रोजगारीका लागि मलेसिया र साउदी ठूला गन्तव्यको रूपमा परिचित छन्।
विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर करिब साढे १३ लाख युवा मलेसिया गएका छन्। त्यस्तै रोजगारीको खोजीमा साउदी जानेको संख्या नौ लाख हाराहारी छ। रोजगारीको खोजीमा बर्सेनि बिदेसिने करिब पाँच लाख युवामध्ये ९५ प्रतिशत खाडी मुलुक र मलेसिया जाने गर्छन्। संघका महासचिव श्रेष्ठले अहिलेसम्म नेपालबाट गएका र गन्तव्य मुलुकमै रहेका कुनै पनि नेपाली श्रमिक कोरोना भाइरसबाट संक्रमित नभए पनि गन्तव्य मुलुकका रोजगारदाताबीच बढी त्रास फैलिएको बताए। ‘रोजगारदाता मुलुकले नै कामदार माग नगरेपछि हामीले केही गर्नसक्ने अवस्था छैन,’ उनले भने।
आर्थिक वर्ष २०७५/७६ मा कुल गार्हस्थ उत्पादनमा २५.४ प्रतिशत योगदान पु-याएको रेमिट्यान्स पठाउने युवा वैदेशिक रोजगारीमा जान नपाएपछि यसले समग्र अर्थतन्त्र चौपट हुने विश्लेषण गर्न थालिएको छ। पूर्वअर्थसचिव रामेश्वर खनाल अप्रिल महिनाको अन्तिमसम्म सुधार नआए समस्याले विकराल रूप लिने बताउँछन् । ‘केही दिन युवा वैदेशिक रोजगारीमा जान नपाए त्यति समस्या नहोला,’ उनले भने, ‘तर यो क्रम अप्रिल अन्तिमसम्म कायम रहे रेमिट्यान्स घट्छ।’ रेमिट्यान्स घट्दा विदेशी मुद्रा सञ्चितिमा असर पर्ने अर्थविद् बताउँछन्। सञ्चिति घटे आयातित सामानको भुक्तानी दिन समस्या पर्छ। अहिले पाकिस्तानमा वैदेशिक मुद्राको अभाव हुँदा भुक्तानी दिन समस्या भइरहेको छ। पूर्वसचिव खनालले कोरोना भाइरसका कारण पर्यटन, उद्योग र निर्माणको क्षेत्रमा भने ठूलो असर परिसकेको बताए ।
त्यस्तै आपूर्ति व्यवस्थापनमा अवरोध उत्पन्न भइसकेको उल्लेख गर्दै उनले तत्काल सरकारको ध्यान आपूर्ति व्यवस्थापनमा जानुपर्ने र अर्थतन्त्रलाई थप बिग्रनबाट रोक्नुपर्ने सुझाव दिए। यही बेला बजारमा तरलताको अभाव हुनसक्ने पनि उत्तिकै सम्भावना रहेको उनको भनाइ छ।
आर्थिक वर्ष २०७५/७६ मा व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ रहेकोमा विभिन्न मुलुकमा गएका युवाले आठ खर्ब ७९ अर्ब रेमिट्यान्स पठाएका थिए। नेपाल भित्रिने रेमिट्यान्समध्ये करिब ७५ प्रतिशत खाडी मुलुक र मलेसियाबाट आउने गर्छ।
आर्थिक वर्ष २०७५/७६ मा श्रम स्वीकृति लिएर पाँच लाख आठ हजार युवा वैदेशिक रोजगारीमा गएका थिए। चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या दुई लाख ६० हजार छ। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा चार खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्रबैंकले जनाएको छ। पछिल्लो ६ वर्षयता कुल गार्हस्थ उत्पादन (जिडिपी) मा रेमिटयान्सको हिस्सा २४ प्रतिशतभन्दा माथि रहँदै आएको छ। अघिल्लो वर्ष करिब १६ महिना बन्द गरिएको मलेसिया रोजगारी सुरु भएको र कैयन गन्तव्य मुलुकमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरिएका कारण यो वर्ष रेमिट्यान्समा वृद्धि हुने सरकारी अधिकारीहरूको अपेक्षा छ।