चुरियामाई सुरुङमार्ग पुननिर्माण हुने
हेटौंडा, फागुन २० । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश तथा स्थानीय तहले सम्पदाको संरक्षण गर्दा पुरातत्व विभागले अड्चन खडा गर्न नहुने बताएका छन् ।
चुरियामाई सुरुङमार्ग पुनर्निर्माण र संरक्षणका सम्बन्धमा बारा र मकवानपुरका प्रतिनिधिसंग मंगलबार भएको छलफलमा उनले एसियाकै पहिलो सो सुरुङमार्ग संरक्षणमा प्रदेश सरकारले प्राथमिता दिएको बताए ।
प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा सो सुरुङमार्ग र फर्पिङको चन्द्रज्योति जलविद्युत्को पुनर्निर्माण र संरक्षण गर्ने उल्लेख गरेको थियो ।
उनले सुरुङमार्गको पुनर्निर्माण र यातायात म्युजियमको निर्माण तथा मनोरम उद्यान समेत बनाउने जानकारी दिए ।
प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सुरुङ मार्ग पुनर्निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार भइ आगामी नयाँ वर्षदेखि काम थाल्ने जानकारी दिए ।
मुख्यमन्त्री पौडेल, भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयाल ,प्रदेश सभा सदस्यहरुले ऐतिहासिक सुरुङमार्गको निरीक्षण गरेका थिए ।