देशभर आज (मंगलबार)देखि होली पर्व शुरु
काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर आज (मंगलबार)देखि होली पर्व शुरु भएको छ । फागुन शुक्ल अष्टमीको अवसरमा आज बिहान ७ बजेर ५७ मिनेटको साइतमा काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । योसँगै फागु अर्थात होली पर्वको शुरु भएको छ ।
हनुमान ढोकाका चार ठाउँ (सुन्दरी चोक, दाग चोक, मुल चोक र वसन्तपुर)मा चीर राखिएको छ ।
वसन्तपुरमा चीर ठड्याएपछि काठमाडौं उपत्यकासहित देशभर होली पर्व सुरु भएको मानिन्छ । चीर ठड्याएपछि सहभागीहरुबीच रंगीबिरंगी अबिर दलेर खुसीयाली मनाइएको थियो ।
यस वर्ष होलीको मुख्य दिन काठमाडौंलगायत पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराई मधेसका जिल्लाहरुमा फागुन २७ गते सार्वजनिक विदा दिइएको छ ।
रंगीचंगी कपडाहरु बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।