शे–फोक्सुन्डोमा पर्यटकको लहर :
डोल्पा — उत्तर–दक्षिण फैलिएको फोक्सुन्डो ताल वरिपरि धेरै भाग चट्टानले घेरेको छ ।
दक्षिणतिर जंगल छ । तालको आकारप्रकार हेर्न एकै छेउबाट सकिँदैन । एक छेउबाट अर्को छेउ देखिँदैन । समुद्री सतहदेखि ३ हजार ६ सय ५० मिटर उचाइमा रहेको फोक्सुन्डो ताल नेपालकै गहिरो मानिन्छ । यसको गहिराइ ६ सय ५० मिटर छ । गत बुधबार भ्रमणका क्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले ताललाई स्वर्गको टुक्रा भनेका थिए । ताल अवलोकन गर्नेलाई स्वर्गको टुक्रा अनुभूत हुन्छ । यहाँ पुगेपछि अवलोकन गर्न सकिने ताल र झरनाबाहेक थुप्रै दृश्य पनि छन् । पूर्व, पश्चिम र उत्तरका उच्च हिमाल, कस्तूरी, नाउरलगायत वन्यजन्तुको सिकार रोकेर वन्यजन्तु संरक्षणका उद्देश्यले स्थापित थासुङछोलिङ गुम्बा र त्यस वरिपरिका विभिन्न स्तूप तथा छोर्तेन, रिग्म गाउँ र गाउँ वरिपरिका विभिन्न सुन्दर र परम्परागत गुम्बा तथा छोर्तेन, घना जंगल, भोजपत्रलगायत विभिन्न प्रजातिका बोटबिरुवा, लामा नाच, स्यार्बो नाचलगायत विभिन्न कला र सांस्कृतिक परम्परा, स्थानीय भाषा, वेशभूषा अवलोकन गर्न सकिन्छ ।