‘सेन्टी भाइरस’ले नेपाली राजनीतिको धरातलिय दृश्य पेश गर्दै यसको जवाफ खोज्ने
राजनीति आफैमा ठट्टा होइन । तर, भद्रगोल राजनीति ठट्टा र कटाक्षको बकाइदा स्रोत हो । राजनीतिक दाउपेचमा रुमल्लिएका समाजलाई त्यस्तो कटाक्ष निकै घत लाग्छ, जो नेता र दलप्रति गरिन्छ । निर्देशक रामबावु गुरुङले समाजको सोही मनोविज्ञानलाई आफ्नो अस्त्र बनाइरहेका छन्, चाहे ‘कवड्डी’मा होस् वा ‘मिस्टर झोले’मा ।
सुक्रबारदेखि प्रदर्शनमा आएको ‘सेन्टी भाइरस’ले पनि त्यही वृत्तमा परिक्रमा गरेको छ । चुनावी माहौल, राजनीतिक खिचातानी, स्वार्थको तान्डव, निष्ठा र इमानको लोप्पा । र, यसभित्र गुम्सिएको एक पारिवारिक-मूल्य ।
‘कवड्डी’ शृंखलामा अभ्यस्त दर्शकका लागि रामबावुले कुनै नयाँ आइटम पेश गरेका छैनन् । यद्यपि ‘सेन्टी भाइरस’ रामबावुको मात्र उत्पादन होइन, धुर्मुस-सुन्तली अर्थात सीताराम कट्टेल र कुञ्जना घिमिरेको पनि पेवा हो । यी दुईको जोडबलको साझा प्याकेज मान्नुपर्छ, सेन्टी भाइरसलाई ।
कस्तो छ कथा ?
कथा एक ग्रामिण भेगमा चलिरहेको चुनावी माहौलबाट सुरु हुन्छ । घरका भित्ताहरु चुनाव चिन्हले रंगिदैछन् । छानोमा दलका झन्डा ठडिदैछ । जुलुस र नारा सर्वत्र गुञ्जन थालेका छन् । सर्वसाधरणमा ‘तेरो र मेरो’ कित्ताकाट सुरु भएको छ । यही माहौलमा मिसिएका छन्, ध्रुबराम सत्याल (सीताराम कट्टेल) ।
सशस्त्र द्वन्द्वमा शहिद भएका पिताले जसरी निष्ठाको राजनीति गरे, त्यसको पदचाप पहिल्याउने यत्न छ धु्रबरामको । उनी आफ्ना दलप्रति बफदार मात्र छैनन्, काँध नै थापेर लागिपरेका छन् । ध्रुबरामको जिद्दी छ, ‘आफ्नो सिद्धान्त र दललाई ज्यान गएपनि छाडिन्न ।’
तर उनको यो अडान तब काँप्न थाल्छ, जब आफ्नी श्रीमती जुनेली (कुञ्जना घिमिरे)ले कठोर सर्त अघि सार्छे । जुनेली भन्छिन्, ‘कि पार्टी छाड, कि मलाई ?’
जुनेलीलाई यति कठोर बन्नुपर्ने परिस्थिती कसरी पनि निर्माण भएको छ भने, उनका पिता (राजाराम पौडेल) विपक्षी दलबाट चुनावमा उठेका छन् । एकातिर निष्ठा, अर्कोतिर नाता । धर्मसंकटमा छन्, ध्रुबराम ।
जति-जति चुनावी मात चढ्दै जान्छ, ध्रुबरामर जुनेलीको भावनात्मक दूरी बढ्दै जान्छ । यो छटपटी ध्रुबराम र जुनेलीको सयन-कक्षासम्म प्रवेश गर्छ ।
ठीक त्यही मोडमा पुगेपछि ध्रुबरामले यस्तो खेल खेल्छन्, जसले सर्प पनि मरोस्, लट्ठी पनि नभाँचियोस् । खेलको नतिजा त उनकै पक्षमा आउँछ । तर, अनेक दाउपेच र स्वार्थमा गुजुल्टिएको राजनीतिले उल्टै ध्रुबरामलाई नराम्ररी लोपारिदिन्छ ।
‘न रह्यो बास, न बज्यो बाँसुरी’ भनेजस्तै । ध्रुबरामको दाम्पत्य जीवन मात्र उजाडिदैन, निष्ठा, अडान र त्याग पनि माटोमा मिल्छ । घरबार बेचेर चुनावमा उत्रिएका ससुरा र श्रीमती सुकुम्बासी बस्तीमा आश्रय लिन पुग्छन् । यो त्यही सुकुम्बासी बस्ती हो, जसको संरक्षणका खातिर उनले आफुलाई दाउमा राखे ।
अब राजनीतिक प्रतिशोधको यो खेलले ध्रुबरामलाई कतातिर डोहोर्याउँछ ?
करिब दुई घण्टा लामो चलचित्रले सिलसिलाबद्ध त्यसैको कथा भन्छ ।
के छ राम्रो ?
लोभ, भय, स्वार्थको चालबाजीभित्र समाज कसरी निसास्सिएको छ ? युवा सपना र उर्जालाई त्यसले कसरी गलाउँदैछ ?
‘सेन्टी भाइरस’ले नेपाली राजनीतिको धरातलिय दृश्य पेश गर्दै यसको जवाफ खोज्ने यत्न गर्छ ।
कमेडी जनराको चलचित्र भएपनि दर्शक हँसाउने चक्करमा नाटकिय हाउभाउ, विचित्रको हुलिया, भद्दा संवाद निर्माण गरिएको छैन ।
‘छ माया छपक्कै’ पछि चिस्सिदै गएको सिनेमा बजारमा यसले केही राप पैदा गर्नेे छनक देखाएको छ । हाँसो-ठट्टा र कटाक्षबाट दर्शकले मनोरञ्जन लिनेछन् । सीताराम र कुञ्जनाको प्रशंसकलाई ध्रुबराम र जुनेलीको नोकझोंक रुचीकर लाग्नसक्छ ।
किन कमसल ?
चुनावी मादकता र त्यसको दृश्य/अदृश्य खेलमाथि बुनिने कथामा न ताजापन छ, न चमत्कृत बनाउने सामर्थ्य । सुकुम्बासी बस्तीको बासी मुद्दाले पर्दामा कम्पन पैदा गर्दैन ।
त्यसो त कथा नविन र गहन हुँदैमा चलचित्र गतिलो बन्छ भन्ने होइन । उक्त कथालाई कति सुरुचीपूर्ण र विश्वसनिय रुपमा पेश गरिन्छ भन्ने कुराले अर्थ राख्छ । बोक्रे कथा अनि आलाकाँचो प्रस्तुतीले काहीँकतै दर्शकको भाव-आवेगसँग अन्तर्क्रिया गर्दैन ।
ध्रुबराम जुन अडान र निष्ठामा उभिएका छन्, कथामा उतार-चढाव एवं मोडहरु निम्त्याउने मियो त्यही हो । तर, उनी पिताको राजनैतिक शिद्धान्तमा डोहोरिएर ‘निष्ठा’को लडाई लडिरहेका छन् वा सुकुम्बासी बस्तीको रक्षार्थ ? स्पष्ट छैन । यस्तो लाग्छ, उनी हचुवाको भरमा दिनरात ‘पार्टी-पार्टी’ भन्दै हिँडिरहेका छन्, घरबार त्यागेर । अर्थात उनको संघर्ष आफैमा तर्कसंगत नहुँदा त्यसबाट उत्पन्न उपकथाहरु विश्वसनिय र चोटिलो लाग्दैन ।
मूल पात्र र एकसरो कथालाई लिएर अगाडि बढ्दा अन्य अवयवहरु निर्जिव बनेको छ । दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ आदिको टेको लगाउने चक्करमा निर्देशकले आफ्नो सीप, शैली र शिल्प पोत्न आवश्यक ठानेका छैनन् ।
फिल्म -सेन्टी भाइरस
निर्देशक- रामबाबु गुरुङ
कलाकार – सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई आदि
जनरा-कमेडी
अवधी- १ घण्टा ५७ मिनेट