प्रदेश २ को नामको बिषयमा दलहरुबिच सहमति
जनकपुरधाम : प्रदेश २ को नामको बिषयमा दलहरुबिच सहमति भएको छ । आइतबार दलहरुबिच भएको आन्तरिक छलफलमा प्रदेशको नाममा मधेस शब्द जोड्न प्रतिपक्षी दलहरु करिव करिव सहमत भएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले सहमतिका लागि प्रदेशको नाम ‘मिथिला मधेस’ हुनुपर्ने प्रस्ताव अघि सारेको बताए । त्यस्तै नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफ्नो दलले लचकता देखाएर ‘जानकी मधेस’ को प्रस्ताव अघि सारेको जानकारी दिए ।उनले भने,‘सत्तापक्ष लचक भए आफूहरु पनि सहमति गर्न तयार छौं ।’ यता सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी प्रदेश २ को नाम ‘मधेस प्रदेश’ हुनुपर्ने अडानमा छन् । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम टुङ्ग्याउन नसकिए पनि दलहरु सहमति नजिक पुगेको बताए । उनले मुलुकमा संघीयता स्थापना गराउन मधेश आन्दोलनको सम्मानका लागि भएपनि नाम मधेस प्रदेश हुनुपर्ने बताए ।
यसअघि शनिबार प्रदेश २ को २ बर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा पनि मुख्यमन्त्री राउतले प्रदेश २ को नाम मधेस प्रदेश नै हुने अडान दोर्होयाएका थिए । त्यस्तै,भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले पनि दलहरुको आगामी बैठकबाट प्रदेशको नाममा सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् । सभामुख सरोज कुमार यादवले पनि स्थायी राजधानीबारे दलहरु यसअघि नै सहमति नजिक पुगिसकेको र नामकरणमा समेत सहमति जुट्ने विश्वास व्यक्त गरे । उनले भने,‘हामीले संसदीय दलका नेताहरुसँग छलफल गरेका छौं । छलफल सकारात्मक रहेकाले सहमति जुट्ने सम्भावना छ ।’
प्रदेशको नामाकरण र राजधानीबारे सहमति जुटाउन सभामुख यादव नेतृत्वको संसदीय समितिले फागुन १५ भित्र दुबै प्रस्ताव प्रदेशसभामा पेश गर्ने तयारी गरेको छ ।