सरकार सफल कि असफल ?
काठमाडौं, फागुन ३ । सरकारले आफ्नो कार्यकालको दुई वर्ष उपलब्धिपूर्ण र ‘सुखी नेपाली, समृद्ध नेपाल’को दिशातर्फ अग्रसर भइरहेको दाबी गरेको छ ।
तर, प्रतिपक्ष दललगायतले सरकारको दुई वर्षको अवधि पूर्णतः असफल भएको टिप्पणी गरेका छन् ।
आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा शनिबार सरकारले गरेका कामबारे संसदमा जानकारी गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षको अवधि निकै उपलब्धिपूर्ण र मुलुक समृद्धतर्फ अग्रसर हुनेगरी काम भइरहेको दाबी गरे ।
करिब एक घन्टाभन्दा बढी समय सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै उनले दुई वर्षको अवधिमा सरकार ‘इन्डेक्स’मा मात्र नभइ ‘इम्प्रेसन’मा पनि सफल र अघि रहेको बताए ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण, शान्ति–सुरक्षा र जनजीविकाका सवाल सम्बोधनमा सरकार सफल रहेको जिकिर गरे ।
तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार पूर्णतः असफल भएको टिप्पणी गरेको छ ।
भर्खरै सरकारबाट बाहिरिएको समाजवादी पार्टीले पनि सरकार संघीयता कार्यान्वयनका आधारभूत सवाल कार्यान्वयनमा समेत असफल र निष्प्रभावी भएको टिप्पणी गरेको छ ।
सरकारमा जाने भनेर सार्वजनिक चर्चा भइरहेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले पनि सरकारको दुईवर्षे अवधि निराशाजनक भएको बताएको छ ।
त्यसो त काम गर्ने सुविधा र वातावरण हुँदाहुँदै पनि सरकारले विकास निर्माणको गति बढाउन नसकेको, शान्ति–सुरक्षामा सुधार नआएको, भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको र जनजीविकाका सवालहरुलाई सम्बोधन गर्न नसकेको भन्दै स्वयं सत्तारुढ दल, नागरिक समाज र आमनागरिकहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।