दिल्लीमा केजरीवालकाे आम आदमी पार्टीको ह्याट्रिक- एक्जिट पोलहरु
एजेन्सी– भारतको दिल्ली विधानसभा चुनावको मतदान सम्पन्न भएसँगै एक्जिट पोलहरु सार्वजनिक हुन थालेको छ। विभिन्न एक्जिट पोलहरुले अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी लगातार तेस्रो पटक दिल्लीको सत्तामा पुग्न सक्ने देखाएका छन्।
पोल अफ एक्जिट पोलका अनुसार ७० विधानसभा सीटका लागि भएको निर्वाचनमा आम आदमीले ५२ स्थानमा जित हात पार्न सक्नेछ। यस्तै उक्त एक्जिट पोलले भारतीय जनता पार्टी (भाजपा)ले १७ सिट र कांग्रेसलाई दुई सिट मिल्न सक्ने अनुमान गरेको छ।
यस्तै टाइम्स नाउको एक्जिट पोलले आम आदमीले ४४ र भाजपाले २६ सिट जित्ने अनुमान गरेको छ।
यसैगरी सुदर्शन न्युजको एक्जिट पोलले केजरीवालको आम आदमी पार्टीले ४०–४५ र भाजपाले २४–२८ सीटमा जित हात पार्नसक्ने अनुमान गरेको छ।
सन् २०१३ मा भएको विधानसभामा निर्वाचनमा आम आदमीले २८ सिट जितको थियो। आठ सिट जितेको कांग्रेससँग मिलेर केजरीवालले सरकार बनाएका थिए। तर सरकार लामो समयसम्म टिक्न सकेन।
तर सन् २०१५ मा भएको विधानसभा निर्वाचनबाट भारी बहुमतका साथ सत्तामा पुगेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अर्को एक कार्यकाल दिल्लीको सत्तामा रहने कोशिसमा छन्। केजरीवालको नेतृत्वमा आम आदमी पार्टीले सन् २०१५ मा ७० विधानसभा सिटमध्ये ६७ मा जित हात पारेको थियो। बाँकी तीन सिट भने भाजपाले जितेको थियो।
शनिबार सम्पन्न भएको निर्वाचनको एक्जिट पोलहरुको नतिजा हेर्दा केजरीवाल फेरि पनि मुख्यमन्त्रीको कुर्सीमा पुग्ने देखिएको छ।