प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पेश
काठमाडौँ, माघ २१ गते । प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पेश भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ ’, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गर्नुभएको हो ।
यसअघि मन्त्री खतिवडाले चारै विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकमा राख्नुभएको थियो । बैठकको अनुमतिपछि ती विधेयक बैठकमा पेश गरिएको हो ।
पूर्वसांसद श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित
पूर्वसांसद श्रीराम श्रेष्ठको निधनमा प्रतिनिधिसभाको आजको बैठकले शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले २०४८ सालमा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभामा निर्वाचित श्रेष्ठको निधनमा प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका हरेक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका तथा सादा र सरल जीवन पद्धतिमा विश्वास गर्ने नेता श्रेष्ठको ८० वर्षका उमेरमा सोमबार निधन भएको थियो । ललितपुरस्थित निदान अस्पतालमा उपचारका क्रममा नेता श्रेष्ठको निधनमा सदनको आजको बैठकले शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ ।