नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साह द्वारा चेतनामूलक चार वटा गीत सार्वजनिक
घुंघटामे तु कबले रहबु
अधिकार माग ए बहुरिया…
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले चेतनामूलक चार वटा गीत सार्वजनिक गरेका छन् । तराई मधेसमा रहेको विभेद, कुरीति, कुसंस्कार तथा कुपरम्पराको बिरोधमा एवं अधिकारका विषयमा गीतले चेतना फैलाउँने विश्वास उनले गरेका छन् । गीत संगीतका माध्यमले समाजमा रहेका नराम्रा कुरा हटाउन सकिने बताउँदै अध्यक्ष साहले घंघटाभित्र रहेका महिलालाई अधिकारका लागि अगाडि बढ्न प्रोत्साहन गर्ने बताए ।
बालविवाह, दाइजो प्रथाका विरुद्धमा तथा छोरीलाई छोरासरह पढाउने सन्देश ती गीतमा समेटिएको छ । यस्तै, बजेट आएपछि त्यसलाई बाँडफाँट गरी खाने तर विकास नगर्ने कार्यकर्ताको व्यवहारमाथि यी गीतमा तीखो रूपमा प्रहार गर्न खोजिएको छ । सार्वजनिक चारवटै गीतको परिकल्पना एवं निर्माण अध्यक्ष साहले गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका नेकपा नेता साहले यस अघि यस्तै चेतनामूलक गीतको परिकल्पना तथा निर्माण गर्दै सार्वजनिक गरेका छन् । मधेसमा रहेका विभिन्नखाले समस्यामा केन्द्रित भई उनले गीत निर्माण गर्दै आएका छन् ।
घुंघटामे तु कबले रहबु
अधिकार माग ए बहुरिया…
भोजपुरी भाषाको यो गीतमा मनीषा पोखरेलको स्वर, उपेन्द्र सहनीको शब्द रहेको छ भने संगीतकार रामबाबु पटेल रहेका छन् । कलाकार केकी अधिकारी र रचना सिवाकोटीले अभिनय गरेका छन् । यो गीतको निर्देशक पर्णेन्दु झा रहेका छन् ।
यो गीतले घुंघटाभित्र रहेका मधेसका बुहारीलाई अधिकारका लागि संघर्षमा उत्रिन आह्वान गरिएको छ । संघर्ष बिना कुनै किसिमको अधिकार प्राप्त नहुने भएकाले घुंघटाभित्रै नबस्न आग्रहसहितको यो गीत अहिले मधेसमा भाइरल बनेको छ ।
हमनिके भगियामे लागि गैल अगिया
बिना संघर्ष सुख मिली ना संघतिया…..
यो गीतको गायिकामा इन्दु सोनाली, शब्द उपेन्द्र सहनी, संगीतकार शिखर, सन्तोष र निर्देशक पुर्णेन्दु झा रहेका छन् । केकी अधिकारी र विजय यादव निर्बिजले यो गीतमा अभिनय गरेका छन् । यो गीतले संघर्ष बिना सुख प्राप्त नहुने भन्दै संघर्षमा उत्रिन उत्प्रेरणा दिएको छ ।
नेताजी हमरा बजेट चाही
बजेट चाही हो बजेट चाही …..
नेताजी मलाई बजेट चाहियो । आफ्ना नेतासँग कार्यकर्ताले बजेट माग्ने र कामै नगरी खाने कुरालाई यो गीतमा उठान गर्न खोजिएको छ । विगतमा नेताको चुनावसहित नेतालाई सहयोग गरेको र बजेट आएपछि आफूले समेत पाउनुपर्ने दाबी कार्यकर्ताले गर्ने र कामै नगरी भ्रष्टाचार गर्ने विषयमा केन्द्रित रही यो गीतले समाजकोे विकास हुनुपर्ने सन्देश दिन खोजेको छ ।
विनोद राठौर र आलोक कुमारको स्वर, आनन्द अस्तिवको गीत, सन्तोष राजको संगीत रहेको यो गीतको नृत्य निर्देशन कमल राईले गरेका छन् । राधेश्याम विश्वकर्मा, प्रेम शर्मा, राकेश दास र बिनिता पुरीले यो गीतमा अभिनय गरेका छन् । यो गीतको छयांकन÷सम्पादन रन्धिर श्रेष्ठ र निर्देशन सुभाष गजुरेलले गरेका छन् ।
अपने तु कैल निमन काम कहिया
रोडा बनके आगैल तु हमार रहिया…
तिमीले आफैं कहिल्यै राम्रो काम गरेनौ तर काँडा बनेर काम गर्नेको अगाडि आउने र काम बिगार्न खोज्ने भन्दै काम गर्नेलाई काम गर्न दिनुपर्छ भन्ने सन्देश यो गीतमा दिन खोजिएको छ । काम गर्न खोज्नेलाई काम गर्ने वातावरण बनाउनुपर्छ । गाउँ, समाजको विकासका लागि एकजुट भएर अगाडि बढनुपर्छ भन्ने सन्देश यो गीतमा समेटिएको छ ।
विनोद राठौरको स्वर, उपेन्द्र सहनी र बिनित ठाकुरको गीत, सन्तोष राजको संगीत रहेको छ । ध्रुव कोइराला, विजय यादव निर्बिज, राम थापाले यो गीतमा अभिनय गरेका छन् । तृत्य निर्देशन राकेश रौशन दास, छयांकन÷सम्पादन रन्धिर श्रेष्ठ र निर्देशक सुभाष गजुरेल रहेका छन् ।
यो चारवटै गीत भोजपुरी भाषामा निर्माण गरिएको छ । गीतको छायांकन रौतहटको कटहरिया, मौलापुर, फतुवा विजयपुरलगायतका नगर क्षेत्रका विभिन्न स्थानमा गरिएको छ । यी गीत अहिले समाजिक सञ्जालमा भाइरल बनेका छन् ।