दण्डको सजाय पाएका धनुषाका उमेश यादव र उनका परिवारबीच झण्डै १४ वर्षपछि आज मिलन हुँदै
साउदी अरेबियामा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादव र उनका परिवारबीच झण्डै १४ वर्षपछि आज मिलन हुँदै छ । बिहान १० बजेको यति एयरको बिमानबाट उमेश काठमाडौंबाट जनकपुर आइपुग्न लागेको उनलाई सकुशल बचाएर स्वदेश फर्काएका समाजिक अभियन्ता सरोज रायले जानकारी दिए ।
अभियन्ता रायका अनुसार जनकपुर बिमानस्थलमा सबभन्दा पहिले झण्डै १४ वर्षअघि बिछोड भएकी श्रीमती मन्जु र छोरा द्वय १७ वर्षका कमलेश र १३ वर्षका रितेशसंग पारिवारिक मिलन हुनेछ । तत्पश्चात उमेश आफ्ना परिवारसहित आफ्नो घर धनुषाको कमला नगरपालिका ५ पर्सा पुगेपछि आमाबुबासंग भेट्ने छन् । घरमा उमेशका बुबा भोला यादव र आमा कुमदरदेवी छन् । वृद्ध अवस्थामा पुगिसकेका आमाबुबाको सहारा उमेश घरकै सुखको निम्ति सन् २००६ मा विदेशिएपछि उनी दुवैजना कष्टकर जीवन व्यथित गर्दै आएका छन् ।
मृत्युको मुखबाट छोरा सकुशल काठमाडौं फर्किसकेको खबरले निकै हर्षित आमाबुबा उमेशलाई हेर्न आतुर छन् । पुनः छोरा उमेशसंग भेट होला नै भनेर आश मारिसकेका आमाबुबामा छोरा सकुशल स्वदेश फर्केपछि खुसीको सीमा छैन ।
काठमाडौंमा आइपुगे देखि नै उमेशका आमाबुबा छोराको ताक्दै दिन बिताउने गरेका छन् । उनीहरुको मिलन घडी अब नजिक आइपुगेका छ ।
लामो समय पश्चात मृत्यु छिचोल्दै घरफर्किन लागेका उमेशलाई हेर्न गाउँबासी समेत आताुर छन् ।
घरको आर्थिक अवस्थालाइ राम्रो बनाउन वैदेशिक रोजगारीको शिलशिलामा सन् २००६ मा साउदी पुगेका उमेश एक महिना १२ दिनमै सहकर्मी पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको हत्या आरोपमा पक्राउ परी जुबेल जेलमा कष्टकर जीवन व्यथित गर्दै आएका थिए । १५ मे २०१८ मा जुबेल अदालतले उमेशलाई मृत्यु दण्डको सजाय सुनाएपछि मृत्यु कुरेर बसेका उनी समाजिक अभियन्ता सरोज रायको प्रयासमा जुबेल अदालतबाट आमामाफी पाउँदै गएको बुधबार बिहानै काठमाडौं आइपुगेका हुन् ।
समाजिक अभियन्ता रायकै सल्लाहमा उनी विशेष कामले काठमाडौंमै चारदिन बसेर आज घर फर्किन लागेका हुन् । उनीसंगै अभियन्ता राय पनि छन् । सोमबार अभियन्ता रायले उमेशलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावालीसंग भेटघाट गराएका छन् । उमेशले आफुसंगै साउदीको जुबेल जेलमा १४ वर्षभन्दा लामोसमयदेखि मृत्युदण्ड पाएर मृत्यु कुरिरहेका नेपाली विवेक दहालको जीवनरक्षाको निम्ति पहल गरिदिन आग्रह गरेका छन् । उमेशले अभियन्ता सरोज रायलाई समेत बिबेकको लागि पहल गरी आफु जस्तै जीवन रक्षा गरिदिन गुहार गर्दै आएका छन् ।
उमेशको मृत्यु दण्डको विषयमा दुईवर्ष अघि समाचार सार्वजनिक भएपछि उमेशलाई बचाउन अभियन्ता रायले चन्दा संकलन गरी मृतक पाकिस्तानी परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ब्लडमणि दिएर आवश्यक कागजी प्रक्रिया पुरा गरेपछि जुबेल अदालतले उमेशलाई आम माफी दिएको छ । गएको मंगलबार जेलमुक्त भएका उमेशलाई प्रहरीले तत्कालै विमान स्थल छोडेपछि उनी बुधबार बिहान काठमाडौं आइपुगेका थिए ।
चारदाजु भाइ रहेका उमेश साहिले छोरा भएपनि आमाबुबाको सेवा गर्ने जिम्मा उनैले पाएका थिए । उमेश विदेशिएको बेला जेठो छोरा कमलेश ४ वर्षका थिए भने रितेश आमाकै गर्भमा थिए । विदेश गएको केहिसमय पश्चात उमेश पाकिस्तानी सहकर्मीको हत्या आरोपमा जेल परेपछि घरमा आर्थिक संकट परेको थियो । श्रीमती मन्जुले समेत छोरालाई लिएर घर छाडेकी थिइन् । उनी धनुषाको महेन्द्रनगरमा बस्दै स्थानीय एक उद्योगामा मजदुरी गर्दै आफ्नो दुईछोरालाई पढाउँदै आएकी छन् । सहारा छोरा जेल र बुहारी घर छाडेपछि उमेशका आमाबुबा निकै कष्टकर जीवन व्यथित गर्दै आएका छन् ।