पर्साका किसानको गुनासो : समयमै पोटास मल पनि पाएनौं
माघ ८, वीरगञ्ज । नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा विगत दुई महीनादेखि रासायनिक मल पोटासको अभाव देखिएपछि यहाँका किसानले लगाएको गँहुखेती प्रभावित भएको छ ।
सो कार्यालयले पर्सालाई लक्षित गरी ७०० मेट्रिकटन पोटास बेच्नुपर्नेमा हालसम्म ५३ दशमलव ९ मेट्रिकटन मात्र पोटास आएकाले विगत दुई महीनादेखि यसको अभाव हुँदा आलु तथा गँहुखेती प्रभावित भएको हो ।
कार्यालयले समयमा रासायनिक मल पोटास उपलब्ध नगराउँदा यसपाली गँहुखेती तथा आलुखेती सोचे जस्तो गर्न नसकिएको गुनासो गर्दै वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका किसान विजय पण्डितले भने, ‘भारतबाट मगाउँदा कमसल हुने भएकाले सोचे जस्तो उत्पादन हुन नसकेकाले यसपाली खेती प्रभावित हुने देखिन्छ ।’
कोलकाता बन्दरगाहमा अड्किएको सो रासायनिक मल पोटास आपूर्तिकर्ताले र्याक नपाउँदा ढुवानी हुन नसकेको भन्दै प्रदेश प्रबन्धक गोविन्दप्रसाद पराजुलीले सो पोटास माघ महीनाभित्र आइसक्ने बताए ।
हाल कार्यालयमा यूरिया ५ हजार ६३ मेट्रिकटन तथा डीएपी ४ हजार ७९४ दशमलव ९ मेट्रिकटन मौज्दात छ । सो कार्यालयले चालू आर्थिक वर्षमा २ लाख ३० हजार मेट्रिकटन रासायनिक मल खरीद गर्ने लक्ष्य राखेको कार्यालयका सूचना अधिकारी गोरखनाथ केसीले बताए । रासस