सरकारले उखु किसानको बक्यौता रकम नदिने तीन चिनी मिलको बैंक खाता रोक्का गर्ने
काठमाडौं । सरकारले उखु किसानको बक्यौता रकम नदिने तीन चिनी मिलको बैंक खाता रोक्का गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाचा गरेको समयमा पनि बक्यौता भुक्तान नगर्ने अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्री, इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्री र लुम्बिनी चिनी उद्योगको बंैक खाता रोक्का गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
मन्त्रालयका अनुसार यी तीन उद्योगको बैंक खाता रोक्का गर्न बुधवार नै आन्तरिक राजस्व विभागलाई पत्राचार गरिएको छ । मन्त्रालयले उखु किसानलाई दिइने भुक्तानीबाहेक अन्य सबै बैंक कारोबार रोक्का गर्न विभागलाई निर्देशन दिएको छ ।
‘यी तीन उद्योगमाथि कडा रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता देखियो । लुम्बिनी चिनी उद्योगका सञ्चालक सम्पर्कमा पनि आएका छैनन्,’ बुधवार मन्त्रालयमा गरिएको विशेष पत्रकार सम्मेलनमा वाणिज्य मन्त्रालयका सहसचिव दिनेश भट्टराईले बताए ।
उखु किसानहरूले १४ चिनी मिलबाट रू. १ अर्ब १६ करोडभन्दा बढी बक्यौता पाउन बाँकी छ । यद्यपि, स्वयम् मन्त्रालयसँगै यसबारेमा यकिन तथ्यांक भने छैन ।
हालसम्म हिमालय सुगर मिल्स, इन्दुशंकर चिनी उद्योग, इस्टर्न सुगर मिल्स, रिलायन्स सुगर इन्डस्ट्री र भागेश्वर सुगर इन्डस्ट्रीले किसानहरूलाई सबै भुक्तानी दिइसकेको मन्त्रालयको दाबी छ । सहसचिव भट्टराईले भने, ‘यी पाँच उद्योगले सबै भुक्तानी दिएको जानकारी दिएका छन् । तर, बैंक खाता उपलब्ध नभएका किसानको भने बाँकी रहेको बताएका छन् ।’
मन्त्रालयका अनुसार अन्य चार कम्पनीले भने किसानहरूलाई आंशिक रकम भुक्तानी गरेका छन् । किसानहरूलाई कुल रू. २१ करोड ४० लाख बक्यौता तिर्न बाँकी रहेको महालक्ष्मी सुगर मिलले पछिल्लो समय रू. ११ करोड ५० लाख भुक्तानी गरेको छ । त्यस्तै, रू. ४२ करोड बक्यौता तिर्न बाँकी अन्नपूर्ण सुगरले किसानहरूलाई मात्र रू. ३ करोड ९० लाख भुक्तानी दिएको छ ।
मन्त्रालयका अनुसार इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रीले मात्र रू. ७४ लाख किसानलाई भुक्तानी दिएको छ जबकि उसको कुल बक्यौता रकम रू. १० करोड रहेको छ । यसैगरी, एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रीले किसानहरूलाई रू. ७ करोड ९३ लाख भुक्तानी गर्न बाँकी छ । उक्त उद्योगले बैंक खाता उपलब्ध नभएका किसानको मात्र भुक्तानी दिन बाँकी रहेको मन्त्रालयको भनाइ छ ।
श्रीराम सुगर मिल्सले भने जग्गा बेचेर बक्यौता तिर्ने गरी किसानसँग सम्झौता गरेको छ । उक्त मिलले किसानहरूलाई रू. २६ करोड ७७ लाख भुक्तानी गर्न बाँकी छ ।
श्रीरामले जग्गा बेचेर बक्यौता तिर्ने विषयमा किसानसँग गरेको सम्झौता पत्र मन्त्रालयमा पेश गरिसकेको छ ।
मन्त्रालयका अनुसार अझै ४ चिनी मिल भने सम्पर्कमा आएका छैनन् । बाबा बैजुनाथ चिनी उद्योग, बाग्मती खाँडसारी चिनी मिल्स, महाकाली सुगर इन्डस्ट्री र लुम्बिनी चिनी उद्योग सम्पर्कमा आएका छैनन् ।
मन्त्रालयले उक्त उद्योगका सञ्चालकहरूलाई उपस्थिति गराइदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । बाग्मती खाँडसारीले रू. ८ करोड ४१ लाख तथा लुम्बिनी चिनी उद्योगले रू. १० करोड दिन बाँकी रहेको उखु उत्पादक संघको भनाइ छ ।
‘किसानहरूलाई उखुको बक्यौता दिलाउने काम सकारात्मक रूपमा अगाडि बढेको छ । उद्योगहरूले बक्यौता तिर्न थालेका छन् । यसलाई उपलब्धिका रूपमा लिनुपर्छ,’ सहसचिव भट्टराईले बताए, ‘साथै, किसानलाई बाँकी बक्यौता दिलाउने विषयमा पनि हामी प्रयत्नशील छौं ।’
किसानले सरकारबाट पाउनुपर्ने अनुदान प्रशासनिक प्रक्रियाका कारण ढिलाइ भएको उनको भनाइ छ । साथै, सहजीकरणका लागि कृषि मन्त्रालयमा पत्राचार गरिएको सहसचिव भट्टराईले बताए । मन्त्रालयले आगामी वर्ष यस्तो समस्या आउन नदिन सहसचिव नवराज ढकालको संयोजकत्वमा कार्यदल बनाएर अध्ययन गरिरहेको छ । आगामी दिनमा किसान र व्यवसायी दुवैलाई मर्का नपर्ने गरी आवश्यक वातावरण बनाइने मन्त्रालयको भनाइ छ ।
उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनाली पनि अहिले चिनी मिलहरूबाट भुक्तानी आइरहेको बताउँछन् । आर्थिक अभियानसँग उनले भने, ‘यद्यपि, केही मिलहरूले अझै बक्यौता तिर्न आनाकानी गरेका छन् । अब माघ ११ हामी किसानहरूको संयुक्त बैठक बसेर बाँकी बक्यौता कसरी उठाउने भन्ने विषयमा निर्णय गर्छाैं ।’